लुम्बिनी: अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले विश्व शान्तिका लागि १२ बुँदे लुम्बिनी घोषणापत्र जारी गरेको छ । २५६० औं बुद्धजयन्तीका अवसरमा बिहीबार लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी ४० देशका प्रतिनिधिले विश्व शान्तिका लागि बुद्धदर्शन प्रेरणाको स्रोत बनेको निष्कर्ष निकाल्दै यस्तो घोषणापत्र जारी गरेका हुन् ।
संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोख्रेलले सम्मेलनको साझा धारणाका रूपमा उक्त घोषणापत्रलाई शनिबार लुम्बिनीमा आयोजित सामारोहमा सार्वजनिक गरे । घोषणापत्रमा ‘विश्व शान्तिका लागि बुद्धको सन्देशको चर्चा गर्दै लुम्बिनीको विकास र प्रचारमा जोड दिनुपर्ने, बुद्ध नेपालको लुम्बिनीमा नै जन्मेको कुरामा विवाद नभएकाले लुम्बिनी गुरुयोजना पूरा गर्दै तिलौराकोट, कुदान, देवदह, रामग्रामको विकासमा जोड दिनुपर्ने, ग्रेटर लुम्बिनी योजना बनाएर लुम्बिनीलाई शान्ति सहर बनाउनेतर्फ नेपाल सरकारले जोड दिनुपर्ने' उल्लेख छ ।
लुम्बिनी बुद्धिज्मको उद्गमस्थल रहेकाले विश्वजगत्का बुद्ध अनुवाइको आकर्षकणको केन्द्रबिन्दुका रूपमा विकास गर्न प्रचार गर्नुपर्ने, यस क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको समन्वय बढाउनुपर्ने, बुद्ध शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, लुम्बिनीलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकसित गरिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका सहभागीले बुद्धवादको उद्गमस्थल लुम्बिनी र बुद्धसन्देश एवं दर्शनको आत्मसात गर्न सके शान्ति फैलाउन टेवा पुग्ने बताए ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका लागि देशहरूबीच अहस्तक्षेपको नीति, पारस्परिक सहयोग आदानप्रदान र बाहुबल त्याग्दै अन्तर्राष्ट्रिय जगत्मा मित्रता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छन् । उनले संयुक्त राष्ट्रसंघमा समेत बुद्धको शान्ति सन्देशले महत्त्व पाएको चर्चा गरिन् ।
लुम्बिनीमा शनिबार आयोजित २५६० औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले अहिंसाका अनुयायी बुद्धको २५ सय वर्षभन्दा अघिको सन्देश आजको वैज्ञानिक युगमा पनि धेरै महत्त्वपूर्ण र आत्मसात गर्न योग्य ठहरिएको बताइन् ।
त्यस अवसरमा राष्ट्रपतिले चिनियाँ बौद्ध टेम्पलअगाडि बोधीवृक्ष सारिन् । उनले सोही स्थानमा राखिएको चिनियाँ धार्मिक तीर्थयात्री हुवान साङ र बौद्ध धर्मगुरु भिक्षु वेन हुवानको मूर्तिको अनावरण पनि गरिन् । भण्डारीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नुका साथै विश्व शान्ति स्तुप मार्ग हुँदै प्राचीन कपिलवस्तु गणराज्यको बुद्धक्रीडास्थल तिलौराकोट दरबार र नवलपरासीस्थित रामग्रामको समेत स्थलगत अवलोकन गरिन् ।
सरकारले नेपालका कपिलवस्तु, रूपन्देही एवं नवलपरासी र भारतको बोधगया सारसरनाथमा रहेका ऐतिहासिक महत्त्वका स्थल जोड्न बुद्ध सर्किट निर्माणको तयारी गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि बुद्ध सर्किट निर्माणप्रति सकारात्मक देखिएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले लुम्बिनीमा पाँच हजारजना क्षमताको सभाहल एक वर्षभित्र निर्माण गरिने उद्घोष गरेका छन् । शुक्रबार साँझदेखि परेको पानीले मञ्चस्थल हिलाम्मे बनेको थियो । विदेशी अतिथिलगायत कार्यक्रममा सहभागी सबै भिजेको र हिलाम्मे बनेको देखेपछि प्रधानमन्त्री ओलीले तुरुन्तै मञ्च निर्माणको आश्वासन दिएका हुन् । सम्मेलनले ग्लोबल बुद्धिस्ट फोरम संस्था गठन गरेको जानकारी पनि ओलीले दिए । सम्मेलनमा संसारका ४० देशका प्रतिनिधि सहभागी थिए ।
नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले आफू बुद्ध र अशोकको सन्देशबाट प्रभावित भई युद्ध त्यागेर शान्तिको मार्गमा प्रवेश गरेको बताए । लुम्बिनीलाई विश्वमा चिनाउन संयुक्त राष्ट्रसंघका महासचिवलाई लुम्बिनी ल्याउन आफू ग्रेटर लुम्बिनीको संयोजक बनेर उच्चस्तरमा योजना अगाडि बढाएको पनि उनले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुद्धको सन्देशलाई विश्वभर अझ व्यापक बनाउन सरकारले वातावरण तयार पार्नुपर्ने बताए ।
समारोहका लागि राष्ट्रसंघका महासचिव बान की मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले शुभकामना सन्देश पठाएका थिए । ती सन्देशलाई कोषका सूचना अधिकृत ज्ञानेन्द्र राईले पढेर सुनाएका थिए ।
यसैबीच समारोह बिथोल्न खोज्ने २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले दिए । समारोहमा चीनका बुद्ध सोसाइटीका उपाध्यक्ष, चिनियाँ राजदूत, श्रीलंकाका राजदूत, थाइल्यान्डका संस्कृतिमन्त्रीलगायत हजारौंको उपस्थिति थियो ।