न्युयोर्कं। नेपाली बौद्धमार्गीहरुले न्युयोर्कको ज्याक्सन हाइटस्थिति डाइभर्सिटी प्लाजामा भब्य रुपमा २५६० औं बुद्ध जयन्ती भब्य रुपमा मनाएका छन् ।
ठूलो संख्यामा सहभागी नेपाली समुदायले खटमा राखिएको बुद्धको मुर्तीलाई बोकेर ज्याक्सन हाइट परिक्रमा गरेका थिए । तामाङ, शेर्पा, मगरलगायतका बौद्धमार्गी आआफ्नै भेषभुषमा कार्यक्रममा सहभागी थिए । बौद्ध भिक्षुहरु र्यालीमा हिड्दा सडक राताम्य देखिएको थियो । सहभागीले नेपालको राष्ट्रिय झण्डाको साथै बौद्ध मन्त्र लेखिएका ब्यानर र झण्डा बोकेका थिए ।
दैनिक जसो कार्यक्रम भइरहने डाइभर्सिटी प्लाजाको खुल्ला सडकमा सहभागी भएका सयौं बौदमार्गीले बौद्ध गुरुसँगै बुद्ध मन्त्र उच्चारण गरेर कार्यक्रम स्थल गुञ्जायमान बनाएका थिए ।
नेपाली बाणिज्य दूतावासका कार्यवाहक बाणिज्य दूत कृष्णकुमार सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हार्डर्ड विश्व विद्यालयबाट विद्याबारिधी गरेकी अमेरिकी नागरिक आनी ख्युङ्गा लाले अमेरिकामा बौद्ध धर्म तीब्र रुपमा विस्तार भइरहेको बताइन् । प्राध्यापकसमेत रहेकी ख्युङ्गा भिश्रुणीको भेषमा कार्यक्रममा उपस्थित थिइन् ।
‘नेपालमा २५ सय बर्षअघि आएको बुद्ध धर्म अमेरिकामा प्रवेश गरेको १ सय ५० बर्ष मात्र भएको छ,’ उनले भनिन्, ‘अरु धर्मभन्दा विज्ञानसँग नजिक रहेकाले बुद्ध धर्म अमेरिकीहरुलाई उपयुक्त छ । त्यसैले यहाँ पछिल्लो समय यस धर्मलाई अंगाल्ने अमेरिकी बढेका छन् ।’ उनले ठूलो घर, महंगो गाडी, फेन्सी जब भन्दा अरुको सहयोग गर्दा पाइने खुसी कैयौं गुणा बढी हुने भन्दै अमेरिकीहरुले भौतिक सुखभन्दा आत्मिक सुख खोज्न बुद्ध धर्म अंगाल्नु पर्ने बताइन् ।
कार्यक्रममा धर्म गुरुहरु आचार्य आङ पासाङ् शेर्पा, घेसी टासिला लगायतले बुद्धले दिएको उपदेश सबैका लागि उपयोगी रहेको बताए । त्यस अबसरमा बौद्ध गुरुहरुले मन्त्र पाठ गरेका थिए । बौद्ध समुदायका किशोरी कलाकारहरुले बौद्ध भजन गाएका थिए । बुद्ध जयन्ती मनाइरहेको दृष्य हेर्न अमेरिकाका विभिन्न समुदायका ब्यक्ति ठूलो संख्यामा कार्यक्रम स्थलमा उपस्थित भएका थिए ।
बुद्ध जयन्ती मूल समारोह हिमालयन बुद्धिस्ट कम्यूनिटी अफ नेपाल ईन युएसए, हृयोल्मो सोसाईटी अफ अमेरिका, युनाईटेड शेर्पा एशोसिएसन युएसए, मुस्ताङ्ग किदूक, गुरुङ (तमु) सोसाईटी युएसए इङ्क, तामाङ सोसाईटी अफ अमेरिका, वालुङ सोसाईटी अफ नर्थ अमेरिका, न्यू योर्क नेवा गुठी युएसए, मुगूम समाज युएसए, मनाङ्ग समाज युएसए, मगर एशोसोएसन युएसए इङ्क, ग्याल्सुम्दो सेवा संस्था इङ्का युएसए, मार्फा थकाली समाज युएसए, कर्मापा सर्भिस सोसाईटी युएसए इङ्क र शाक्य सेचेन एशोसिएसन न्यू योर्कलगायतका संस्थाले आयोजना गरका हुन् ।