९ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन अझै १८ महिना लाग्ने बताएको छ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले हालसम्म १६ दशमलव ८ किलोमिटर टनेल खनिएको र अझै ११ किलोमिटर टनेल खन्न बाँकी रहेको भन्दै मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन अझै १८ महिना लाग्ने बताए ।
व्यवस्थापिका संसद्को वातावरण संरक्षण समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री सिंहले अहिले दैनिक ३० देखि ३५ मिटरका दरले टनेल खन्ने काम भइरहेको जानकारी दिए ।
उनका अनुसार अहिलेको गतिमा काम हुँदा टनेल खन्न मात्र एक वर्ष लाग्नेछ । टनेल खनिसकेपछि फिनिसिङ गर्न ६ महिना लाग्ने भन्दै अबको डेढ वर्षयता मेलम्चीको पानी काठमाडौ नआउने मन्त्री सिंहले जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजना विकास समितिले यो जेठ महिनाभित्र आयोजना सम्पन्न हुने दाबी गर्दै आएको थियो । तर, भूकम्प र नाकाबन्दीका कारण आयोजना लम्बिएको खानेपानी तथा सरसफाइमन्त्री सिंहले बताए ।
दैनिक १७ करोड लिटर पानी काठमाडौ ल्याउने लक्ष्यसाथ एसियाली विकास बैंकको ऋण सहयोगमा १५ वर्षअघि आयोजना सुरु भएको हो । काम सुरु गर्दा सात वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।