पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त


वासिङ्टन डिसीः अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
यादवकी छोरी अनिता यादवले कुरा गर्दै भनिन्, ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा हुनुहुन्छ ।’
अनिताका अनुसार पूर्वराष्ट्रपति यादव अब क्यान्सरको संक्रमणबाट मुक्त भएका छन् । अनिताले भनिन्,‘अब बुबा क्यान्सरको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।’
गत अक्टोबर २ तारिखको दिन डा मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो ।
रोवोटिक सर्जरी प्रविधिमा आधारित उक्त शल्यक्रिया करिब चार घन्टामा सकिएको छोरी अनिताले जानकारी दिइन । यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्किने कार्यक्रम रहेको छ ।