निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसँग टीका लाउनेको भिड


काठमाडौँः पूर्वराजा ज्ञानेन्द्र शाहले विजय दशमीको अवसरमा निर्मल निवासमा हजारौँ शुभेच्छुकलाई टीका र जमरा लगाइदिएका छन् । मंगलबार बिहानैदेखि निर्मल निवासमा पूर्वराजाका शुभेच्छुक र राजावादीको भिड थियो ।
निर्मल निवास पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समेत पूर्वराजाबाट टीका लगाएका छन् । वडा दसैंको अवसरमा मंगलबार साँझ चार बजेदेखि निर्मल निवासमा सर्वसाधारणका लागि टीका लगाउने व्यवस्था मिलाइएको थियो ।
सर्वसाधारणले घन्टौँ लाइन लागेर पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको हातबाट टीका र जमरा ग्रहण गरेका छन् । निर्मल निवासमा टीका लगाउनका लागि लामबद्ध भएका सर्वसाधारण निवास बाहिर सडक पेटिमा घन्टौँ उभिएर टीका लगाएका थिए ।