यात्रुलाई सधैं गुणस्तरहीन खाना


काठमाडौं: राजमार्गका होटेल तथा रेस्टुराँ व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निःशुल्क सुस्वादु भोजन । दसैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटेलमा सधैंजसो यही क्रम चल्दै आएको छ ।
राजमार्गका होटेल तथा रेस्टुराँ व्यवसायीले बढी मूल्य असुल गरे पनि यात्रुलाई गुणस्तरयुक्त खाना दिँदैनन् । तीनै होटेल तथा रेस्टुराँले चालकका लागि भने अलग्गै कोठामा विशेष भान्साको व्यवस्था गर्छन् । यात्रुवाहक बसका चालकसहित स्टाफका लागि अलग्गै कोठामा खसी र कुखुराको सुपसहित फ्राइड मासु वा सेकुवा, पापड, सलाद, कम्तीमा दुई थरी हरियो तरकारी, बासना आउने चामलको खानासहित कोल्ड ड्रिंक्स पनि व्यवस्था हुन्छ ।
चालकसहित तीनचारजनालाई यस्तो विशेष भान्साबाहेक यात्रु ल्याइदिएबापत दैनिक हजार रुपैयाँको आकर्षक भत्ता पनि होटेल व्यवसायीले दिने चालकहरू बताउँछन् । चाडबाडमा उपहारस्वरूप बियर र महँगा मदिरा बेग्लै । यात्रुलाई भने कक्रक्क परेको नमिठो भात, एक थोक तरकारी र दाल । हेर्दै खान मन नलाग्ने ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटेल तथा रेस्टुराँका सम्बन्धमा गरेको पछिल्लो अनुगमनबाट चालक र यात्रुले खाने खानाको गुणस्तरमा यस्तो खाडल देखिएको हो । 'हाम्रो अनुगमनले यस्तो स्थिति देखिएको छ । यसलाई हटाउन संयुक्त प्रयासको खाँचो छ,' खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने ।
नौबिसे, खानीखोला, धार्के, गजुरी, मलेखु, रामनगर, मुग्लिन र नारायणघाट क्षेत्रका सडक खण्डका होटेल तथा रेस्टुराँले यात्रुलाई राजधानीको सामान्य होटेलभन्दा झन्डै तीनगुना बढी मूल्य असुल गरी गुणस्तरहीन खाना खुवाउँदै आएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष पे्रमलाल महर्जनले होटेल सञ्चालकले यस्तो प्रकारको गुणस्तरहीन खाना खुवाएर यात्रुको स्वास्थ्यसँग सीधै खेलवाड गरेको आरोप लगाए ।
'एउटाले महँगो मूल्य तिरेर पनि राम्रो खाना नपाउनु अर्कोले सित्तैंमा सुविधैसुविधाको भत्ता र उपचारसहित स्तरीय खाना पाउनु चरम लापरबाहीको नमुना हो,' उनले भने । बसका चालकले विकल्प नै नभएको ठाउँमा बस रोक्दा यात्रु झनै अप्ठेरोमा पर्ने गरेका छन् ।
जनकपुर रुटको एक यात्रुवाहक बसका चालक भन्छन्, 'होटेल व्यवसायीले भनेको नमान्दा कहिलेकाहीं गुरुजीले पनि ठूलै समस्या सामना गर्नुपर्छ ।' उनका अनुसार होटेल व्यवसायीले आफ्नो होटेलमा यात्रुलाई खाना खुवाउन यात्रुवाहक बसका चालकलाई विभिन्न प्रकारले रिझाउने प्रयास गर्छन् । होटेल व्यवसायीले भनेको नमान्दा धम्काउन पनि पछि नपर्ने उनको अनुभव छ ।
'चितवनको रामनगरमा होटेल व्यवसायीले आफ्नै होटेलमा खाना खुवाउन मरिहत्ते गरी मलाई धम्क्याउन लगाएका थिए,' उनले भने, 'सवारीसाधन त्यही सडकबाट गुडाउनुपर्छ, उनीहरूसँग दुस्मनी मोल्नु पनि राम्रो हुन्न ।'
खाद्य तथा गुण नियन्त्रण विभागका अनुसार नौबिसेमा ६०, मलेखुमा ५०, मुग्लिनमा एक सय १४, धार्केमा ३०, खानीखोलामा १० र अन्य गरी करिब दुई सय ९० वटा सानाठूला होटेल तथा रेस्टुराँ पृथ्वी राजमार्गमा सञ्चालनमा छन् ।

संख्या धेरै गुणस्तर न्युन
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले मलेखुदेखि नवलपरासीसम्मको केही होटेलमा गरेको स्तरीकरणअनुसार थोरै संख्यामा गुणस्तरयुक्त खाना खुवाउने होटेल तथा रेस्टुराँ भेटिएका छन् । करिब अढाइ सय होटेलमध्ये २० वटा होटेलको खानामा मात्रै स्वच्छ र स्वास्थ्यवद्र्धक भेटिएको छ । बाँकी होटेल तथा रेस्टुराँको खाना निक्कै तल्लो स्तरको भेटिएको छ ।
विभागले यात्राका क्रममा राजमार्गमा खाना खान झर्दा होटेलमा टाँसिएको स्टिकर हेरेर खाना खान सुझाव दिएको छ ।
सबैभन्दा उत्कृष्ट खाना खुवाउने र सरसफाइमा ध्यान दिने होटेल तथा रेस्टुराँलाई सरकारले हरियो रङको स्टिकर उपलब्ध गराएको छ । विभागले होटेल तथा रेस्टुराँलाई खानाको गुणस्तरका आधारमा चार वर्गमा विभाजन गरेको छ ।
उत्तमलाई क वर्गमा राखेर हरियो वृत्तको स्टिकर प्रदान गरिएको छ । सुधार गर्नुपर्ने होटेल तथा रेस्टुराँलाई ख वर्गको (मध्यमस्तर) को भन्दै पहेंलो वृत्तमा एउटा रातो धर्का भएको स्टिकर उपलब्ध गराइएको छ । त्यस्तै न्यून स्तरका होटेललाई ग वर्गमा राखेर पहेंलो वृत्तमा दुईवटा रातो धर्का भएको स्टिकर टाँसिएको छ । घ वर्गमा बन्द गर्नुपर्ने अवस्थाका होटेललाई राखिएको छ । यस्तोमा रातो वृत्तको स्टिकर टाँसिएको छ ।