हराउँदै पिङ संस्कृति


खाँदबारी: दसैंतिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिंगेपिङ मुख्य आकर्षण हुन्थ्यो । बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ ।
केही वर्षअघिसम्म संखुवासभाका गाउँगाउँमा दसैंतिहारको मौसममा लिंगेपिङ र रोटेपिङ थाप्ने गरिन्थ्यो । यस वर्ष भने अहिलेसम्म पनि कतै पनि पिङ नथापिएको स्याबुनका चिरन राईले बताए । गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ । पिङमा वृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिन्छन् ।
स्याबुनका चित्र श्रेष्ठले भने, 'प्रेमिकासँग भेट गर्ने मात्र नभएर शुभकामना साटसाट गर्ने स्थलसमेत पिङ हुन्थ्यो ।' उनका अनुसार जिल्लाको सिभुवा, स्याबुन, वाना, तुम्लिङ, मानेभन्ज्याङ, नुम, मादीलगायतका गाउँका मुख्य स्थल पिङमय हुने गरेको भए पनि हिजोआज त्यो संस्कृति लोप हुँदै गएको छ ।
जाँतेपिङ पूरै लोप भएको छ भने लिंगेपिङ र रोटेपिङ पनि हराउँदै गएका छन् । खाँदबारीका राजेन्द्र लिम्बूले सानै उमेरदेखि दसैंमा पिङ खेल्ने गरेको उल्लेख गर्दै यस वर्ष कतै पिङ नथापिएकाले दसैं खल्लो भएको बताए । 'पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । युवाहरूले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन्,' लिम्बूले भने, 'संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ ।' नयाँ पुस्ताले जाँतेपिङ र रोटेपिङको नामसम्म सुन्न पाएको छैन ।
दुई वर्षअघि संखुवासभा जलजला–७ नाँगीडाँडामा दसैंमा थापिएको लिंगपिङमा रमाउँदै दिदीबहिनी ।
सामान्यतया लिंगेपिङ बाँसका लिंगा गाटेर बाबियो या नाइलन डोरीको लठ्ठाबाट बनेको हुन्छ भने परम्परागत नेपाली रोटेपिङमा चारवटा काठका पिर्का हुन्छन् । रोटेपिङमा एकैपटक चारभन्दा बढी व्यक्ति एकसाथ खेल्न सक्छन् । दुई व्यक्तिले पिङ हल्लाउनुपर्छ । पिङको सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसँग मच्चिन्छ ।
जाँतेपिङमा दुईजना बसेर मच्चिन सकिन्छ । काठको मियोको माथिल्लो भागबाट काठ तेस्र्याएर दुवै भागमा एक–एकजना बस्न मिल्ने गरी यसको निर्माण गरिएको हुन्छ । जाँतो जसरी घुम्ने यो पिङ मच्चाउन एकजनाको सहयोग चाहिन्छ ।