इस्लामाबाद: भारत-पाक तनाव चर्किंदै जाँदा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले संसद्को संयुक्त बैठकलाई बुधबार सम्बोधन गर्दै आफू शान्तिको पक्षमा भएको र आतंकवाद अन्त्य आफ्नो लक्ष्य रहेको बताएका छन् । कस्मिर अशान्तिमा भारतको हात रहेको उनको दाबी थियो ।
आफूहरूले युद्ध नचाहेको उनले स्पष्ट पारे । आफूले शान्तिको वकालत गरेको विषयलाई कसैले कमजोरी सम्झन नहुने उनको धारणा थियो । सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामै नलिई भने, 'उनले बेरोजगारीमाथि विजय प्राप्त गर्नु हाम्रो लक्ष्य हो भन्छन् भने आगो र बारुदबाट यो सम्भव छैन । बारुदको खेती गरेको ठाउँमा खुसीको बाली उम्रन सक्दैन ।'
टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार अमेरिकाले भारत-पाक तनाव कम गर्न निरन्तर संवादको आग्रह गरेको छ । 'भारत र पाकिस्तानी सैनिक एकअर्काबीच सम्पर्कमा रहेको हामीलाई थाहा छ, हामी यस्ता छलफलको निरन्तरतालाई प्रोत्साहित गर्छौं,' अमेरिकी रक्षा मन्त्रालयका सञ्चार अधिकृत पिटर कुकले मंगलबार भनेका थिए ।
संयुक्त संसद्मा सरिफले पाकिस्तान आफैं आतंकवादबाट पीडित मुलुक भएको बताए । आतंकवादको ठूलो पीडा सहेको मुलुकले आतंकवादलाई सहयोग नगर्ने उनको भनाइ थियो । पाकिस्तानी सुरक्षाकर्मीका साथै बालबालिका पनि आतंकवादबाट प्रभावित भएको उनले बताए । उनले भने, 'संसारले देखेको छ, हामीले आतंकवादविरुद्ध युद्ध सुरु गरिसकेका छौं ।'
उनले भारत प्रशासित कस्मिरमा मारिएकमा हिजबुल मुजाहिद्दिनका कमान्डर बुरहान वानी स्वतन्त्रताका नायक भएको दोहोर्याए । आफू कस्मिरी जनताका पक्षमा भएको र त्यहाँको स्वतन्त्रता आन्दोलनलाई सधैं समर्थन गर्ने दृढता उनले व्यक्त गरे । भारतले कस्मिरी जनतामाथि अत्याचार गरेको सरिफको दाबी छ । भारतीय सेनाले कस्मिरमा मानवअधिकार उल्लंघन गरेको र भारतले दाबी गर्दै आएको सर्जिकल स्ट्राइक झूटो भएको दाबीसमेत उनले गरे ।
आफूहरूले भारतसँग पटकपटक वार्ता गरेर समस्या सुल्झाउन खोजेको तर भारत त्यसका लागि तयार नभएको उनको भनाइ थियो । कस्मिरको उरीस्थित सैन्य केन्द्रमा आक्रमण गरेको भनेर भारतले पाकिस्तानलाई दोष लगाएको उनको कथन थियो । कस्मिरी समस्यालाई पाकिस्तानले संयुक्त राष्ट्रसंघमा उठाउन खोजेका बेला भारत अत्तालिएर उरी आक्रमण गराएको आरोप पनि उनको थियो ।
उता भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले भारत र अफगानिस्तानबीचको व्यापार सम्बन्धमा पाकिस्तान अवरोध बनेको आरोप लगाएका छन् । अफगानिस्तानबारे आयोजित एक कार्यक्रममा अकबरले अफगानिस्तानविरुद्धको हिंसा र आतंकवादको आकार ठूलो रहेको बताए ।
टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टअनुसार पाकिस्तानले भारतलाई लक्षित गर्दै कराँची र लाहोरका हवाई क्षेत्र 'अपरेसनल कारण' देखाउँदै १३ दिनका लागि बन्द गर्ने भएको छ । पाकिस्तानी सैन्य विमानले अभ्यासहरू गरिरहेका कारण पाकिस्तानले यसो गरेको हुनसक्ने एक वरिष्ठ अन्तर्राष्ट्रिय रुट योजनाकारले बताएका छन् ।