जुलाई ८ मा भारतीय सुरक्षा फौजबाट कश्मीरको एउटा पृथकतावादी आन्दोलनको कमान्डर २२ वर्षीय बुरहान मुजफ्फर वानीको हत्यापछिको १० हप्ता लामो द्विपक्षीय भिडन्तमा पृथकतावादी र सर्वसाधारण गरी ८० जनाको मृत्यु भयो । सुरक्षा फौज र सर्वसाधारण गरी ११ हजारभन्दा बढी घाइते भए ।
सेप्टेम्बरसम्म आउँदा जनजीवन सामान्य हुँदै थियो । तर एक्कासि भारतीय कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट एक सय दुई किलोमिटरको दूरीमा अवस्थित सीमावर्ती उरीमा रहेको भारतीय सैनिक अड्डामाथि पाकिस्तान अधिकृत कश्मीरबाट आएका पृथकतावादीहरूबाट भएको आक्रमणमा १८ जना भारतीय सुरक्षा अधिकारीहरूको हत्या भयो । त्यसले उत्पन्न गरेको तनावमाझ भारतको दाबीअनुसार गत बुधबारको मध्यरातदेखि बिहीबार बिहानसम्म भएको फौजी आक्रमणमा ३८ जना आतंककारी र दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
सेप्टेम्बर २८ मा उक्त फौजी आक्रमणलाई भारतले पाकिस्तान अधिकृत कश्मीरको सीमाभित्र घुसेर गरिएको निश्चित लक्ष ताकेर गरिएको अचुक आक्रमण (सर्जिकल स्ट्राइक) भनेर दाबी गरेको छ ।
पाकिस्तानी सेनाले पाकिस्तानी भूभागभित्र त्यस्तो सर्जिकल स्ट्राइक नभएको तर सीमा क्षेत्रमा भारतीय सेनाबाट गोलाबारी भएको बताएको छ ।
कुनै सर्जिकल स्ट्राइकको लागि अत्यन्त दक्ष र त्रुटिरहित सूचना संकलन क्षमतासहित हवाई स्थल वा जलसेनाको संयुक्त कमानमा लक्षस्थलबाट प्रवाहित विद्युत् चुम्बकीय संकेतलाई अनुशरण गर्दै लक्षमा प्रहार गर्ने अत्याधुनिक आयुधसहितको असाधारण मानवीय रणकौशल आवश्यक हुन्छ । इजरायल संसारमै यस्तो विलक्षण र असम्भवप्राय सर्जिकल स्ट्राइकको क्षमता राख्ने देश हो । इजरायलपछि अमेरिका त्यस्तो अचुक प्रहार क्षमताको राष्ट्र मानिन्छ ।
अझै पनि शीतयुद्धकालीन सैनिक सिद्धान्तअनुसार संगठित भारतीय सेनासँग शत्रु राष्ट्रको सीमाभित्र घुसेर लक्षमा अचुक प्रहार गर्ने सामरिक क्षमता भएकोमा रणनीतिक विश्लेषकहरू शंका गर्छन् ।
सन स्नो र अभिजित सिंहले आआफ्ना लेखबाट गत सेप्टेम्बर ३० को दी डिप्लोम्याटमा त्यस्तो आशंका उल्लेख पनि गरेका छन् ।
भारतले त्यस्तो सर्जिकल स्ट्राइकबारे पूर्ण विवरण दिएको छैन, तर स्नोका अनुसार भारतले त्यस्तो क्षमता आर्जन गरेको हो भने त्यो आतंकवादविरुद्धको युद्धमा उसको ऐतिहासिक उपलब्धि हो । तर त्यो सर्जिकल स्ट्राइक हो वा सीमा क्षेत्रमा कुनै सम्भावित आक्रमणकारीको अड्डामा अनुमानका आधारमा गरिएको आक्रमण हो, विश्लेषकहरूले निर्णय गर्न सकेका छैनन् । भारतीय मिडिया र खास गरेर टेलिभिजन र सामाजिक सञ्जालहरूमा व्यक्त अति उत्साहले तत्कालको लागि त्यसको वस्तुनिष्ठ अध्ययनको सम्भावना क्षीण बनाएका छन् ।
भारतले दाबी गरेको त्यस्तो सर्जिकल स्ट्राइकलगत्तै पनि पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले एउटा पाकिस्तानी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पाकिस्तानका आणविक हतियार शोभाको लागि नभएर मुलुकको रक्षाको लागि भएका बताए । पाकिस्तानको सुरक्षामा चुनौती आएमा पाकिस्तानले भारतलाई ध्वस्त पारिदिने चेतावनीसमेत उनले दिए ।
दक्षिण एसियाली मामिलाका विख्यात अमेरिकी विज्ञ स्टेफन पी कोहनले सम्बन्धमा सुधार नभए भारत र पाकिस्तानबीच आणविक युद्धको सम्भावना रहेको उल्लेख गरेका छन् ।
सेप्टेम्बर २३ मा पाकिस्तानी सेना प्रमुख राहिल सरिफले पनि पाकिस्तानले जुनसुकै मूल्यमा आफ्नो मुलुकको हरेक इन्च भूभाग रक्षा गर्ने घोषणा गरे ।
उनको आशय पनि प्रस्ट छ-आइपरेमा पाकिस्तानले आणविक हतियार प्रयोग गर्नेछ ।
आणविक क्षमताः पाकिस्तानको रक्षाकवच
'भारतले अणुबम बनायो भने घाँस खाएर होस् वा वा भोकै बसेर, पाकिस्तानले परमाणु बम बनाएरै छोड्नेछ । हाम्रो लागि अन्य कुनै पनि विकल्प मान्य छैनन् । अणुबमको उत्तर अणुबम मात्रै हो ।'
आणविक हतियार विकाससम्बन्धी हरेक महत्त्वपूर्ण आलेख र ग्रन्थहरूले नछुटाउने माथिको बहुचर्चित भनाइ मार्च १९६५ मा मेनचेस्टर गार्जियनसँगको अन्तर्वार्तामा पाकिस्तानका तत्कालीन विदेशमन्त्री (पछि राष्ट्रपति र प्रधानमन्त्री) जुल्फिकर अली भुट्टोले भनेका हुन् ।
वास्तवमा पाकिस्तानको परमाणु क्षमताको मूल प्रेरणा नै भुट्टो थिए । परम्परागत सैन्य सामथ्र्यको बलमा भारतजस्तो ठूलो र शक्तिशाली मुलुकबाट पाकिस्तानको सुरक्षा सुनिश्चित नहुने भएकाले उनी विदेशमन्त्री भएदेखि नै परमाणु हतियारको विकासमा प्रतिबद्ध थिए । उनकै पहलमा सन् १९५६ मा परमाणु ऊर्जा आयोग पनि गठन भएको थियो । सन् १९६५ को युद्धमा भएको पराजय पाकिस्तानको आणविक कार्यक्रमको लागि थप ऊर्जा बन्यो ।
आणविक हतियारको इतिहास त्यसैगरी बनेको छ-१९४५ मा अमेरिकाले परमाणु बम बनायो । सोभियत संघले त्यसलाई आफ्नो सुरक्षाको लागि गम्भीर चुनौतीको रूपमा बुझ्यो । अमेरिकाभन्दा चार वर्षपछि उसले पनि परमाणु बम बनायो ।
सोभियत संघले सुरुमा चीनलाई परमाणु हतियार विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर पछि दुई मुलुकबीच राजनीतिक र रणनीतिक सवालहरूमा मतभेद बढ्दै गएपछि चीनलाई त्यस्तो हतियार विकासमा सहयोग गर्न अस्वीकार गर्दै जुन १९५९ मा चीनबाट आफ्ना सबै परमाणुसम्बन्धी प्राविधिज्ञहरूलाई फिर्ता बोलायो । अनि जुलाई १९६० मा माओत्से तुङले चिनियाँ वैज्ञानिकहरूलाई आफ्नै प्रयासमा अर्को आठ वर्षभित्र परमाणु बम विकास गरिसक्न अपिल गरे ।
तर चार वर्षमै चीनले पहिलो परमाणु बमको सफल परीक्षण गर्यो । सन् १९६४ मा ऊ दुनियाँको पाँचौं परमाणु शक्तिसम्पन्न राष्ट्र बन्यो ।
फिरोज हसन खानले पाकिस्तानको परमाणु बमसम्बन्धी पुस्तकमा लेखेका छन्– चीनले परमाणु बम बनाएपछि पाकिस्तानका आणविक ऊर्जा आयोगका प्रमुख डा. इस्रत हुसेन उस्मानीले विभिन्न कार्यक्रमहरूमा भनिरहे– यदि संसारमा छैटौं परमाणु हतियारयुक्त राष्ट्र हुन्छ भने त्यस्तो सातौँ राष्ट्र पनि हुनेछ । उस्मानीको संकेत क्रमश भारत र पाकिस्तान थियो ।
सोभियत संघको सहयोगमा सन् १९७४ मा भारतले त्यो क्षमता आर्जन गर्यो । चीनको सहयोगमा पाकिस्तानले पनि सन् १९८४ मा आणविक युद्ध क्षमता आर्जन गर्यो ।
सोभियत संघको सहयोगमा सन् १९७४ मा भारतले त्यो क्षमता आर्जन गर्यो । चीनको सहयोगमा पाकिस्तानले पनि सन् १९८४ मा आणविक युद्ध क्षमता आर्जन गर्यो ।
सोभियत संघ, चीन, भारत र पाकिस्तान सबैले परम्परागत सैन्य बलमा आफूभन्दा धेरै शक्तिशाली मुलुकसँगको सम्बन्धमा शक्ति सन्तुलन कायम राख्नकै लागि आणविक हतियारहरू विकास गरेका हुन् । स्पष्ट बुझ्नुपर्ने कुरा के हो भने समग्र सैन्य क्षमताका आधारमा भारत र पाकिस्तानबीच कुनै तुलनै हुन सक्दैन । राजनीतिक, आर्थिक र कूटनीतिक क्षमताका आधारमा पनि यी दुई मुलुकबीच आकाश-पातालको अन्तर छ ।
पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्नसक्ने भनेको आणविक हतियारका क्षेत्रमा मात्रै हो । यो पाकिस्तानको सुरक्षाको सबैभन्दा बलियो भर हो । त्यसैले उसले भारतका सबै मुख्य सहरहरूलगायत भारतका भित्री भूभागसम्म प्रहार गर्न सक्ने आणविक हतियारजडित क्षेप्यास्त्रहरू विकास गरेको छ ।
त्यति मात्रै नभएर भारतलाई लक्ष गरेर युद्ध मैदानमा मानिसको काँधबाट प्रहार गर्न सकिने र झोलामा बोकेर ओसारपसार गर्न सकिने ससाना आणविक हतियार पनि उसले विकास गरेको बताइन्छ । ट्र्याक्टिकल वा ब्याटलफिल्ड न्युक्लियर वेपन भनिने यस्ता हतियार लुकाएर-छिपाएर जहाँसुकै लगेर प्रयोग तथा प्रहार गर्न सकिने भएकाले पाकिस्तानका यस्ता हतियारहरूको सुरक्षाबारे विश्वव्यापी रूपमा चिन्ता गर्ने गरिएको छ ।
भारतले पाकिस्तानलाई पराजित गर्न सक्छ । कमजोर र अस्थिर बनाउन सक्छ तर पाकिस्तान कमजोर हुँदै जाँदा पाकिस्तानका यस्ता ससाना आणविक हतियार स्वयं पाकिस्तानमा समेत कहर बर्साइरहेका इस्लामिक कट्टरपन्थीहरूका हातमा पुग्यो भने त्यसको पहिलो लक्ष भारत नै हुने देखिन्छ । भारतजस्तो शक्तिशाली मुलुकसँग निरन्तर तनाव र शत्रुताको स्थितिमा रहेको मुलुकले आफ्नो सुरक्षामाथि गम्भीर संकट आएको अनुभव गर्नेबित्तिकै आणविक हतियार प्रयोग गर्न सक्ने सम्भावना अस्वीकार गर्न सकिँदैन ।
आणविक हतियारः युद्धको साधन र शान्तिको सुरक्षण
११ मे १९९८ मा बिहान पौने ४ बजे भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीले राजस्थानको पोखरान क्षेत्रमा जमिनमुनि तीनवटा आणविक परीक्षण गरेर भारत आणविक हतियारयुक्त राष्ट्र भएको घोषणा गरे । त्यसको दुई दिनपछि भारतले अर्को दुइटा त्यस्तै परीक्षण गर्यो ।
त्यसको १७ दिनपछि, बिहान तीन बजे पाकिस्तानले पाँचवटा त्यस्तै आणविक परीक्षण गरेको जानकारी प्रधानमन्त्री नवाज सरिफले दिए । दुई दिनपछि पाकिस्तानले अर्को एउटा परीक्षण गर्यो ।
भारतले भन्दा एउटा थप परीक्षण गरेर पाकिस्तानले आफ्नो आणविक क्षमता भारतको भन्दा कम नभएको जानकारी विश्व समुदायलाई दियो ।
भारतीय पत्रकार राज चेनगप्पाले आफ्नो पुस्तक 'वेपन्ज अफ पिस' मा लेखेका छन्-पाकिस्तानको परीक्षणपछि अटल विहारी वाजपेयीले आफ्ना एक सहयोगीलाई भने, 'भारत र पाकिस्तान दुवै आणविक हतियारयुक्त राष्ट्र भए । अब दुवै मुलुकले आपसमा युद्ध धान्न नसक्ने भएकाले शान्तिको नयाँ युग प्रारम्भ भएको छ ।'
स्मरणीय छ, सन् १९४७ मा एक दिनअघि र पछि गरेर स्वतन्त्र भएका भारत र पाकिस्तानले स्वतन्त्रतापछिको २४ वर्षमा मात्रै तीन युद्ध लडेका थिए ।
सन् १९९९ मा भारत र पाकिस्तान कारगिल युद्धमा थिए । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनका निकट सहयोगी ब्रुस रिडेलले डेली बिस्टमा लेखेअनुसार ४ जुलाई १९९९ मा ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकार सेमुयल बर्जर र सीआईएको ब्रिफिङअनुसार भारतको सैनिक दबाबमा अलिकति वृद्धि हुनेबित्तिकै पाकिस्तानले आणविक बम प्रहार गर्ने सम्पूर्ण तयारी गरेको थियो ।
सो जानकारी पाउनेबित्तिकै क्लिन्टनले तत्काल पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग सम्पर्क गरी कारगिलमा रहेका आफ्ना सेनालाई तुरुन्त फर्काइ तनाव अन्त्य गर्न दबाब दिएका थिए । त्यतिखेर अमेरिका पाकिस्तानमाथि विशेष प्रभाव राख्थ्यो र त्यसै भयो । आणविक युद्धको खड्गो टर्यो ।
भारतका सबैजसो भूभागलाई आफ्ना आणविक प्रहारको सीमाभित्र राखेको पाकिस्तानको स्थिरता भारतको पनि प्रमुख सरोकार हो । भारतीय प्रेरणा र प्रोत्साहनमा सिन्ध वा बलुचिस्तानमा उठ्ने पृथकतावादी वा त्यस्तै चरित्रको आन्दोलन बलियो हुँदै जाँदा पाकिस्तान सरकारले त्यसलाई समाधान गर्न सकेन र आन्तरिक अशान्ति र अराजकता बढ्दै गयो भने त्यहाँको राजनीतिमा इस्लामिक कट्टरपन्थीहरूको शक्ति र प्रभाव बढ्दै जाने स्वतसिद्ध छ ।
त्यस अवस्थामा पाकिस्तानको आणविक हतियार सुरक्षामा खलल पुग्न गई भारतलाई लक्ष गरी ती हतियारहरूको जथाभावी प्रयोग हुन सक्ने अवस्थालाई ठाडै अस्वीकार गर्न सकिँदैन ।
रूस र चीन दुवैको अमेरिकासितको सम्बन्धमा तनाव थपिँदै जाँदा क्षेत्रमा रूस, चीन र पाकिस्तानबीचको रणनीतिक निकटता भारत र अमेरिकाको लागि थप चुनौतीपूर्ण नबन्ला भन्न सकिन्न ।
अमेरिकाको चीन र भारतसँगको सम्बन्धको वर्तमान चरित्रले अमेरिकाको पाकिस्तानमाथिको प्रभाव अत्यन्त संकुचित बनाएको छ । ऊता पाकिस्तानको सुरक्षा र स्थिरता स्वयं चीनको दीर्घकालीन सुरक्षा हितसँग अभिन्न हुँदै गएको अवस्थामा पाकिस्तानमाथिको भारतको रणनीतिक दबाबले भारत र चीनलाई एकअर्काको सम्मुख उभ्याउने स्थिति बन्ने देखिन्छ ।
साथै रूस र चीन दुवैको अमेरिकासितको सम्बन्धमा तनाव थपिँदै जाँदा क्षेत्रमा रूस, चीन र पाकिस्तानबीचको रणनीतिक निकटता भारत र अमेरिकाको लागि थप चुनौतीपूर्ण नबन्ला भन्न सकिन्न ।
पाकिस्तानको भूमिबाट हुने कुनै आतंककारी आक्रमण सम्बन्धमा भारतका रणनीतिक विकल्पबारे जर्ज पर्कोभिच र टोबी डाल्टोनिनले दी वासिंटन क्वाटरलीमा लेखेका छन्-पाकिस्तानले आफ्नो भूमिमा एउटा आणविक लक्ष्मण रेखा निर्धारण गरेको छ । निश्चित छ, भारतले त्यस्तो रेखा पार गर्नेबित्तिकै पाकिस्तानले उसका विरुद्ध आणविक प्रहार गर्न सक्छ । त्यस्तो आक्रमणबाट हुने क्षति कुनै पनि आतंककारी आक्रमणबाट हुने क्षतिभन्दा धेरै गुणा बढी हुने भएकाले भारतसँग त्यस्तो अवस्था आउन नदिनुको विकल्प छैन ।
पर्कोभिच र डाल्टोनिन के पनि उल्लेख गर्छन् भने सन् २००२ मा भारतीय संसद्मा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानसँगको सीमामा पाँच लाख सेना तैनाथ गरेको थियो । तर जब पाकिस्तानमाथि आक्रमणको अन्तिम निर्णय गर्ने समय आयो, समग्र स्थितिको मूल्यांकन गरेर भारत पछि हट्यो ।
त्यसैले भारतीय राजनीति र सञ्चार जगत्मा पाकिस्तानविरुद्ध जति आक्रोश पोखिए पनि भारतले पाकिस्तानमाथि ठूलो स्तरमा आक्रमण गर्ने सम्भावना छैन । उरी आक्रमणविरुद्ध उठेको आक्रोश शान्त पार्ने उद्देश्यले नै उसले सर्जिकल स्ट्राइकबारे त्यति धेरै उत्साह देखाएको र कूटनीतिक रूपमा एक्ल्याउने रणनीति अवलम्बन गरेको बुझ्न सकिन्छ । पाकिस्तानको पूर्ण आक्रोशलाई आमन्त्रण नगर्ने तर आफ्नो राष्ट्रिय जनमतलाई पनि सन्तुष्ट बनाइराख्ने उद्देश्यले नै उसले हालको आक्रमणलाई पाकिस्तानमाथि नभएर आतंककारीहरूको अड्डामा गरिएको सर्जिकल स्ट्राइक भनेको बुझ्न सकिन्छ ।
यो कुरा अमेरिकाले धेरै अघि बुझेको थियो । विभिन्न अमेरिकी स्रोतहरूलाई उल्लेख गर्दै एनबीसी न्युजको लागि रोबर्ट विन्ड्रेम र बिजिनेस इनसाइडरको लागि रिकी क्रेट्नरले तयार पारेको प्रतिवेदनअनुसार इस्लामिक कट्टरपन्थी र आतंककारीहरूका कारण पाकिस्तानमा अन्योल, अराजकता र अव्यवस्था बढ्दै गएको अवस्थामा पाकिस्तानका आणविक हतियारका भण्डारहरूमा ओसामा बिन लादेनमाथिको आक्रमण शैलीमा आक्रमण गरी त्यहाँ रहेका आणविक हतियारहरू आफ्नो नियन्त्रणमा लिनेबारे अमेरिकाले २००७ देखि नै गम्भीर गृहकार्य गरेको थियो ।
पछि आएर त्यस्तो आक्रमण योजनामा सम्बद्ध अधिकारीहरू के निष्कर्षमा पुगे भने एक ठाउँमा रहेका लादेनमाथि आक्रमण गरेर र नियन्त्रणमा लिएजस्तो विभिन्न स्थानमा लुकाइएका र कठोर अनुशासन तथा प्रशिक्षणबाट खारिएका २० हजारजति उच्च क्षमताका सिपाहीहरूको अत्यन्त कडा पहरा र निगरानीमा रहेका त्यस्ता सबै हतियार कब्जामा लिन सम्भव छैन ।
त्यस्तो प्रयास गरिए पनि कथम् कुनै स्थानमा लुकाइएर राखिएका हतियार छुटे भने ती हतियारबाट आमन्त्रण हुनसक्ने विनाशको अनुमान गर्ने नसकिने ठहर उनीहरूले गरे । त्यसमाथि आक्रमण अमेरिकाले गरे पनि पाकिस्तानलाई उक्त कार्य भारतले गरेको भन्ने लागेमा भारतमाथि त्यसको कहर झन् भयानक हुने स्वतसिद्ध थियो ।
माथिक सन्दर्भहरूको निष्कर्ष हो- भारत र पाकिस्तानमा मानवीय समझ र विवेक भएका राजनीतिक र सैनिक नेतृत्व रहेसम्म आणविक युद्ध सम्भव छैन । तर आणविक क्षमतासहितको राष्ट्रको नेतृत्व सडकमा पोखिएका सस्ता र अनुत्तरदायी नारा घोकेर तथा मूढ कूटनीतिक तथा रणनीतिक अहंकारको बलमा गर्न खोजियो भने आणविक युद्ध हुँदै हुन्न भन्न सकिने अवस्था पनि रहेन ।
-भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटिजिक स्टडिजसँग आबद्ध छन् ।