काठमाडौं: नेपालमा चंगा उडाउने संस्कृतिको विकास गर्ने श्रेय माधवगोविन्द श्रेष्ठलाई जान्छ । उनले नै पहिलोपटक चंगा बनाएर यसको व्यापार सुरु गरेका हुन् । असनको व्यस्त सडकको एक छेउमा चंगाको चाङ लगाएर व्यापारमा व्यस्त माधव गोविन्दका नाति गोविन्द श्रेष्ठले भने, ‘मेरै हजुरबुवाले नेपालमा पहिलोपटक चंगा व्यापार सुरु गर्नुभएको रे ।’
नेपालमा चंगा उडाउने संस्कृति विस्तारै हराउँदै गएकाले यसको व्यापार पनि घट्दै गएको छ । व्यापार घटेपछि चिन्तित देखिएका गोविन्दले भने, ‘चंगा संस्कृति स्वात्तै हराएर गयो, हाम्रो व्यापार घट्यो ।’ उनका अनुसार केही वर्ष पहिलेसम्म चंगा किन्नेको घुइँचो लाग्थ्यो असनमा । यति बेला भने ग्राहक कहिले आऊलान् भनी कुरेर बस्नु परेको छ उनलाई ।
संस्कृतिहरू विस्तारै हराउँदै गएका कारण आफू पनि यसको मारमा परेको उनको भनाइ छ । चंगा संस्कृति हराउँदै जानुमा इन्टरनेट र मोबाइल नै मुख्य दोषी मान्छन् श्रेष्ठ । उनले भने, ‘आजकल सबैजना इन्टरनेटमा झुन्डिन्छन्, संस्कृतिको के कुरा गर्नु ? कसलाई होला चंगा उडाउने फुर्सद ।’ पहिलेको जस्तो चंगा उडाउने ठाउँ पनि पर्याप्य नभएकाले चंगाको व्यापार घटेको उनको अनुमान छ । उतिबेलाका घरहरूको उचाइ पनि उस्तैउस्तै हुने हुँदा चंगा उडाउन सजिलो हुने बताउँदै उनले भने, ‘यति बेला चंगा उडाउने ठाउँ पनि खाली छैन ।’
तीस वर्षदेखि चंगा पसल सम्हाल्दै आएका ५३ वर्षीया श्रेष्ठका अनुसार पंैतीस वर्षअगाडि भारतीय धागो नेपालमा छिरेपछि यसले नेपाली शैलीका परम्परागत चंगालाई विस्थापित गरिदियो । हिजोआज नेपाली चंगा बन्न छाडिसकेका छन् भने यहाँ पाइने चंगा सबै आयातीत हुन् । आफ्नो पालाका चंगा बनाउँदाका क्षण सम्झँदै उनले भने, ‘त्यति बेला नेपाली कागजको चंगा बन्थे । धागो नेपाली हुन्थ्यो । धागो चिल्लो बनाउनका लागि थिन आरारोट, सिसाको धुलो र सावुरदाना पकाएर धागोमा दलिन्थ्यो । यसको सट्टामा मैदाको माडा पनि लगाइन्थ्यो किनकि यो सस्तो पथ्र्यो ।’
उनका अनुसार पचास वर्ष पहिलासम्म पनि नेपाली कागजको चलन थियो । चंगा नेपाली कागजकै बन्थे । पाँच पैसादेखि एक मोहरसम्ममा बिक्री हुन्थ्यो । तर, नेपाली कागजको चलन पनि विस्तारै हरायो । त्यसको सट्टामा भारतीय सस्ता चंगाले ठाउँ लिए । त्यति बेला क्षेत्रपाटी, नरदेवी, असन र किलागलमा मात्रै चंगा किन्न पाइन्थ्यो । तर, यति बेला पसलहरू पनि थुप्रै खुले । उनले त्यति बेला चंगा मात्रै चाङचाङ बिक्री हुने गरेको सुनाए । ‘त्यति बेला एकै दिन हजारौं चंगा बिक्री हुन्थे, अहिले मरेर सयवटा पनि बिक्री हुँदैनन्’, उनले तीतो यथार्थ सुनाए ।
चंगा संस्कृति हराउँदै जानुमा इन्टरनेट र मोबाइल नै मुख्य दोषी मान्छन् चंगा व्यापारी गोविन्द श्रेष्ठ । उनले भने, ‘आजकल सबैजना इन्टरनेटमा झुन्डिन्छन्, संस्कृतिको के कुरा गर्नु ? कसलाई होला चंगा उडाउने फुर्सद ।’
गोविन्दलाई छोरा सजितले पनि यो व्यापारमा साथ दिँदै आएका छन् । सजितका अनुसार उनीहरूको पसलमा यति बेला पाँच रुपैयाँदेखि साढे दुई सय रुपैयाँसम्मका चंगा पाइन्छ । त्यस्तै लट्टाई ७० रुपैयाँदेखि तीन हजार पाँच सयसम्ममा पाइन्छ । यसमा कुनै नेपाली छैनन्, सबै भारतीय हुन् । ‘पहिलादेखि आफ्नै बाबुबाजेले सुरु गरेको काम भनेर निरन्तरता दिएकै छु, बन्द गर्न पनि सकिएन, न त राम्रोसँग चल्या छ’, गोविन्दले भने । उनका अनुसार पहिला जेठ असारदेखि नै चंगा उडाउने बाटाभरि भेटिन्थे । अहिले घटस्थापनादेखि पूर्णिमासम्म मात्र चल्छ ।
बाजेको चंगा पसल अर्थात् पाँचपुस्ते चंगा पसलको नामले असनमा परिचित उनको व्यवसाय धरापमा परेको भन्दै उनी चिन्तित बनिसकेका छन् । उनले यसबाट नेपाली संस्कृतिलाई ठूलो धक्का पुग्ने अनुमान लगाएका छन् । यति बेला अर्डर आएपछि मात्र चंगा ल्याउने गर्छन् उनी । संस्कृतिहरू साँच्चै नै विस्तारै लोप हुन लागेको गुनासो गरे सिनियर क्याप्टेन विजय लामाले ।
चंगाको निकै पारखी लामाले भने, ‘म खुब उडाउँथे, २५ देखि ५० पैसामा चंगा किन्न पाइन्थ्यो । पानबुट्टे, धर्के, पुच्छरे, धागोचे विभिन्न प्रकारका चंगा पाइन्थे । म एउटा हातले मात्र चंगा पनि उडाउँथे । त्यस्तो चलन हराएकै हो ।’ उनलाई आजकलमा मानिसले दसैंको मूल्य नबुझेजस्तो लाग्छ ।
‘दसैमा चंगा उडाउन थिन आरारोट पकाएर सिसाको धुलोले धागोमा गमजस्तो बनाएर धागो ठूलो पोलमा बाँधेर सुकाउँथ्यौं । पिङ खेल्थ्यौं । आजकल त्यस्तो हुँदैन । आजकलका युवाहरू खायोे, जता पायो त्यता बाइक हाँक्ने गर्छन्, यसले आफूमात्रै हैन अरूको ज्यान पनि जोखिममा पारिदिन्छन्’, उनले भने । नराम्रो संस्कृति हुर्किंदै गएकाले राम्रो संस्कृति जोगाउनु सबैको कर्तव्य भएको उनले बताए ।